Nepali · Chapter 12
Study notes aligned to the official NEB syllabus.
'जलस्रोत र ऊर्जा' वक्तृतामूलक पाठ हो । यसमा नेपालको जलस्रोतको सदुपयोग गरी जलविद्युत् उत्पादन र सिँचाइका माध्यमबाट देशको आर्थिक समृद्धि गर्न सकिन्छ भन्ने भाव व्यक्त गरिएको छ ।
क) नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
नेपाली जलराशिमा ८३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने क्षमता छ ।
ख) के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?
देशमा भएको जलस्रोतको सम्पूर्ण क्षमताको पचास प्रतिशत मात्रै विद्युत् उत्पादन गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ।
ग) विद्युतको खपत कसरी बढाउन सकिन्छ ?
राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कारखानाहरू खोल्ने वातावरण बनाउने, घरायसी रूपमा विद्युतको खपत बढाउन प्रोत्साहन दिने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत विदेश पुर्याउन सके विद्युतको खपत बढाउन सकिन्छ ।
घ) जलविद्युतीकरणका लागि नेपालको भूगोल किन उपयुक्त मानिएको छ ?
बाह्र महिना परिरहने हिउँ, नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटका कारण जलविद्युतीकरणका लागि नेपालको भूगोल उपयुक्त मानिएको छ ।
क) जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ ?
जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो पूर्वाधार विकासका नीति, नियम तथा योजना निर्माण गरी विदेशिने युवा शक्तिलाई प्रयोग गरेर कार्यान्वयन गर्नुपर्छ । राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कारखानाहरू खोल्ने वातावरण बनाउन र घरायसी रूपमा विद्युतको खपत बढाउन प्रोत्साहन दिने नीति अख्तियार गर्न सके जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास गर्न सकिन्छ ।
ख) राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको कस्तो भूमिका हुन्छ ?
राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको महत्त्वपूर्ण भूमिका हुन्छ । नेपालमा रहेका छ सयभन्दा बढी नदीहरू बाह्र महिना निरन्तर बगिरहन्छन् । सिँचाइको उचित व्यवस्थापन गरेर धर्तीको उर्वराशक्ति बढाई प्रशस्त खाद्यान्न उत्पादन गरी विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ ।