गाउँको माया
'गाउँको माया' कथामा करिब दुई वर्षपछि गाउँ फर्केका शिक्षित पात्र कृष्ण र उनका बाल्यकालका साथी परिदनको भेटका माध्यमबाट गाउँप्रतिको माया र समाजको वर्गीय द्वन्द्वको चित्रण गरिएको छ ।
शब्दभण्डार
१. जोडा मिलाउनुहोस् :
- कान्ला → खेतको गारो
- आर्द्र → नरम, रसिलो
- क्रीतदास → पैसा दिएर दास बनाएको
- ओरहा → पूर्ण नपाकेको मकै, गहुँलाई पोलेर तयार पारेको परिकार
- ठालु → गाउँबस्तीमा आफ्नो हैकम जमाउने मान्छे
२. दिइएको अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
- स्वतन्त्र : उन्मुक्त
- कपडाको धजुरो : झुर
- अड्काउ : अल्झो
- भिन्न हुनाको अनुभव : पृथकताबोध
- अर्काको काम गरिदिएबापत पाइने पारिश्रमिक : बनी
- इज्जत : अभिमान
३. वाक्यमा प्रयोग गर्नुहोस् :
- नौटङ्की : देशका भ्रष्ट कर्मचारीहरूले सेवाको नौटङ्की गरेर सेवाग्राहीसँग घुस लिनु हुँदैन ।
- रिहर्सल : नृत्य दर्शकसामु प्रस्तुत गर्नुभन्दा पहिले नृत्यको रिहर्सल गर्ने गरिन्छ ।
- हुटहुटी : दुई वर्षपछि गाउँ फर्कँदै गरेका कृष्णलाई कतिबेला जन्मभूमिमा पाइला टेक्न पाइएला भन्ने हुटहुटी भइरहेको थियो ।
- आली : भर्खरै धान रोपेको खेतको आली आलीमा टेकेर हिँड्दा चिप्लेर तल्लो गराको कान्लामा खस्ने सम्भावना हुन्छ ।
- अन्तराल : पाँच वर्षको अन्तरालपछि गाउँ फर्केका मलाई आफ्नै जन्मभूमि पनि नौलो लागेको आभास हुन पुग्यो ।
- कृपापात्र : परिदनजस्ता धेरै जनता आफ्नो मालिकको कृपापात्र बनेर बसेका छन् ।
- नासो : बाबुबाजेले छोडेर गएको नासोलाई परिदनजस्ता सन्ततिले निरन्तरता दिएका छन् ।
- ऋण : परिदनजस्ता गरिब र खेत मालिकहरूबीच ऋण रहेको थियो ।
- मानसपट : परिदन र रामदासको मानसपटमा सधैँ बनी कसरी बढाउन सकिन्छ भन्ने कुरा खेलिरहन्छ ।
४. दिइएका शब्दमध्ये दुईओटाको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :
परिदन अर्काको घरमा बसेर काम गर्छ । उसले आफ्नो पारिवारिक व्यवहारमा मालिकलाई खुसी बनाएको छ । आफ्ना गरिब साथीहरूको परिश्रम र मेहनत देखेर कृष्णको मन पानी पानी भएको थियो । जमिनदारहरूले गरिब जनतालाई केही ऋण दिएर उनीहरूलाई जीवनभर आफ्नो बसमा पार्थे । अर्काको घरमा बसेर काम गर्दा पनि परिदन बुधन बुढा, रामदासजस्ता साथीहरूसँग हातेमालो गर्थे ।
५. कक्षामा छलफल गरी माथिका बाहेक अरू प्रचलित दसओटा टुक्का खोजेर लेख्नुहोस् :
- नाक काट्नु
- रुवाब तान्नु
- कानमा तेल हाल्नु
- मुख लगाउनु
- कन्सिरी तात्नु
- श्रीगणेश गर्नु
- हात लाउनु
- सुइँको पाउनु
- टाउको खानु
- आँत खानु
अभ्यास
१. प्रश्नको उत्तर दिनुहोस् :
क) यस कथामा कतिओटा अनुच्छेद छन् ?
यस कथामा चौधओटा अनुच्छेद छन् ।
ख) सातौं अनुच्छेदमा कतिओटा वाक्य छन् ?
सातौं अनुच्छेदमा दुईओटा वाक्य छन् ।
ग) कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको छ ?
कृष्णको प्रवेश तेस्रो अनुच्छेदमा भएको छ ।
घ) 'म' पात्र किन गाउँ गएको हो ?
गाउँको मायाले गर्दा 'म' पात्र गाउँ गएको हो ।
ङ) कथाका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना विभाजन गर्नुहोस् ।
आदि भाग :
- गाउँको माया र त्यहाँको वातावरणले उनलाई धेरै वर्ष तानेको थियो ।
- कृष्णको राम्रो पढाइका कारण ऊ सहर गएर पढ्न पाएको छ ।
मध्य भाग :
- कृष्ण घर आउँदा बाटामा आफ्नो पुरानो साथी परिदनसँग भेट हुन्छ ।
- परिदन गरिब भएकै कारण अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दछ ।
अन्त्य भाग :
- यस्तो अन्याय अत्याचार सहेर पनि परिदनजस्ता मानिस त्यसको विरुद्धमा लडिरहेका छन् ।
- धेरै बेर आफ्नो पुरानो साथीसँग गफ गरेर कृष्ण आफ्नो घरतर्फ लाग्छन् ।
२. कथाका घटना क्रमबद्ध रूपमा लेख्नुहोस् :
क) 'म' पात्र करिब दुई वर्षपछि आफ्नो गाउँले जीवनका अनेक घटना सम्झिँदै गाउँतिर फर्कनु
ख) परिदनले बोलाएको आवाजले 'म' पात्र झस्किनु
ग) परिदनसँग गाउँका अनेक दुःखसुखका कुराकानी गर्नु
घ) परिदन खोलाछेउको कुवामा पानी लिन जानु र 'म' पात्रले खोलाका राम्रा नराम्रा पक्षबारे सोध्नु
ङ) पानी लिइसकेपछि परिदनले गाउँका ठालुका कारण गाउँमा भएका कुरा सुनाउनु
च) तिमी गाउँमै भए ठालुहरूले यसरी सताउन नसक्ने कुरा परिदनले 'म' पात्रलाई बताउनु
छ) 'म' पात्रले तिमीहरूकै कारणले गाउँ प्रगतिको पथमा छ भन्दै राम्रो कामको श्रेय परिदनलाई दिएर सम्मान प्रकट गर्नु
ज) महावीरजीको झन्डा मेलामा गाउँकै घटनाहरू राखेर परिदनले 'म' पात्रलाई नाटक लेख्न अनुरोध गर्नु
झ) गाउँमा टेक्न नपाउँदै एउटा गहन जिम्मेवारी पाएको कुरा सोच्दै 'म' पात्र घरतिर लाग्नु