लौ आयो ताजा खबर
'लौ आयो ताजा खबर' सुरेन्द्र नकर्मीद्वारा लिखित लघुनाटक हो । दुर्व्यसन अत्यन्तै घातक हुने भएकाले यसको समाधानका निमित्त सबै मिलेर यसको जरो उखेल्नुपर्छ भन्ने आशय यस नाटकमा प्रस्तुत गरिएको छ ।
शब्दभण्डार
१. दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
- पत्रपत्रिका → अखबार
- मञ्चको पछाडिको भाग → नेपथ्य
- रमित → तमासा
- विपत् → आपत्
- एम्बुलेन्सले बजाउने आवाज → साइरन
२. जोडा मिलाउनुहोस् :
- मधुरो प्रकाश → अलि अलि उज्यालो
- बस बिसौनी → बस चढ्न र ओर्लन रोकिने ठाउँ
- ताजा खबर → नयाँ समाचार
- निन्दनीय कार्य → निन्दा गर्नुपर्ने काम
- जीवनको अध्याय → जिन्दगीको कालखण्ड
- प्रस्थान गर्नु → बाहिर जानु
- भविष्यको लठ्ठी → भोलिको सहारा
३. दिइएका शब्दहरूको विपरीत अर्थ दिने शब्द लेख्नुहोस् :
- बासी → ताजा
- चट्किलो → मधुरो
- दोष → निर्दोष
- पराई → आफन्त
- भाग्यमानी → अभागी
- बन्धन → मुक्ति
- अदृश्य → दृश्य
४. दिइएका आशय झल्कने उखान लघुनाटकबाट खोजेर लेख्नुहोस् :
क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ ।
खाने मुखलाई जुँगाले छेक्दैन ।
ख) अरूलाई पर्ने समस्या तपाईंलाई पनि पर्छ ।
अरूलाई खाने बाघले तपाईंलाई पनि खान्छ ।
५. पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् :
- नाच्न नजान्ने आँगन टेढो : फुटबल खेल्न नसकेपछि मैदान राम्रो भएन भन्नु त नाच्न नजान्ने आँगन टेढो भनेजस्तो भयो ।
- अचानोको पीर खुकुरीले बुझ्दैन : अचानोको पीर खुकुरीले बुझ्दैन भनेझैं गरिबको पीडा धनीले बुझ्दैन ।
- जुन जोगी आए पनि कानै चिरेको : जुन जोगी आए पनि कानै चिरेको भनेझैं नेपालका कुनै पनि स्थानीय निकायले विकासतर्फ ध्यान दिएको पाइँदैन ।
- आफू नमरी स्वर्ग देखिँदैन : आफू नमरी स्वर्ग देखिँदैन भनेजस्तै विदेश नआईकन त्यहाँको दुःख बुझ्न सकिँदैन ।
- नपत्याउने खोलाले बगाउँछ : हरिको छोराले त सरकारी कोटामा डाक्टरी पढ्न पाउने भयो भन्नु त नपत्याउने खोलाले बगाउँछ भनेजस्तो भयो ।
६. वाक्यमा प्रयोग गर्नुहोस् :
- खरानी हुनु : ढुकुटीको पैसा नेताहरूले खरानी बनाएर छोड्ने भए ।
- पेट पाल्नु : नेपालमा पेट पाल्नका लागि गाह्रो भएर विदेश जाने क्रम बढिरहेको छ ।
- कुरा खानु : बेलैमा बुवाको कुरा नखाएका हुनाले रामले साह्रै दुःख पायो ।
- टाउको खानु : मैले मिठाई मिठाई भनेर दादाको टाउको खाएँ ।
- आलु खानु : बिपनाले त यो पालिको परिणाममा आलु खाइदी ।
- सपना चकनाचुर हुनु : हामीले बुवाआमाको सपना चकनाचुर पार्नुहुँदैन ।
- सपना पूरा हुनु : सरकारी जागिर खाएर आमाबुवाको सपना पूरा भयो ।
अभ्यास
१. प्रश्नको उत्तर दिनुहोस् :
क) 'देश नबने हामी कोही बन्दैनौं' भन्ने वाक्यको तात्पर्य लेख्नुहोस् ।
देशको प्रगति, समृद्धि र विकास नभएसम्म हामीले सुख र खुसी पाउँदैनौं भन्नु नै 'देश नबने हामी कोही बन्दैनौं' भन्नुको तात्पर्य हो ।
ख) खुसी भएर बाँच्नका लागि के गर्नुपर्छ ?
खुसी भएर बाँच्नका लागि सकेसम्म सुख दुःखमा मिलेर साथ दिनुपर्छ ।
ग) सामूहिक अभियान किन चलाइएको हो ?
सामूहिक अभियान दुर्व्यसनको जडलाई उखेली समाजबाट विकृति विसङ्गति हटाउनका लागि चलाइएको हो ।
घ) कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?
आफ्नो सन्तानप्रति आफ्नो जिम्मेवारी पूरा गर्ने अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ।
२. प्रश्नको उत्तर दिनुहोस् :
क) लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?
दुई दिनदेखि बेखबर भई घर नफर्केको आफ्नो छोरा नै कतै समाचारपत्रमा छापिएअनुसार बेवारिसे अवस्थामा भेटिएको एउटा युवकको लास आफ्नै छोराको होला भनेर आफन्तको आगमन भइरहेको हो ।
ख) मरेको वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसँग तपाईंको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।
मरेको वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइप्रति म असहमत छु, किनकि :
- मरेको वा नजन्मेको मान्छेको कुनै मोल नै नभएकाले,
- धर्तीमा भौतिक उपस्थिति नभई उसको गुण पत्ता लगाउन नसकिने भएकाले ।
त्यसैले मरेको वा नजन्मेको मान्छे न त राम्रो हुन्छ न त नराम्रो नै ।