Nepali · Chapter 3
Study notes aligned to the official NEB syllabus.
'संस्कृतिको नयाँ यात्रा' सुधा त्रिपाठीद्वारा लेखिएको आत्मपरक निबन्ध हो । यसमा नेपालको सांस्कृतिक विविधता र विभेदरहित साझा संस्कृतिको परिकल्पना प्रस्तुत गरिएको छ ।
क) माथिको पाठ कति अनुच्छेदमा संरचित छ ?
माथिको पाठ आठ अनुच्छेदमा संरचित छ ।
ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ ?
पाठको दोस्रो अनुच्छेदमा जीवनयात्राको क्रममा बहुजातीयतामा फक्रेको नेपाली कला र संस्कृतिको विषयलाई मुख्य भाव बनाइएको छ ।
ग) पाठको छैटौं अनुच्छेदमा कस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको छ ?
पाठको छैटौं अनुच्छेदमा संस्कृतिका नाममा आउने विकृतिको अन्त्य हुनुपर्ने कुरालाई प्रस्तुत गरिएको छ ।
घ) निबन्धको पाँचौं अनुच्छेदमा कतिवटा वाक्य छन् ?
निबन्धको पाँचौं अनुच्छेदमा बाइसवटा वाक्य छन् ।
क) जन्म भयो नै संस्कृति हो भनेर बुझ्न थालेँ, त्यति बेलासम्म र अझै पनि यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेका छन् ।
ख) नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति हुन् ।
ग) मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो ।
घ) मैले यस यात्रामा सामेल भएर आवाज दिएँ ।
ङ) मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठूलो कुरा हो ।
क) जीवनलाई किन यात्रा भनिएको हो ?
'संस्कृतिको नयाँ यात्रा' नेपालको पूर्वी पहाडी भेगमा जन्मेकी सुधा त्रिपाठीद्वारा लेखिएको एक आत्मपरक निबन्ध हो । उनले यस निबन्धमा जीवनलाई यात्रा भनेकी छन् । जीवन एक नदी हो । जसरी नदी दौडिरहन्छ, त्यसरी नै जीवनको यात्रा पनि दौडिरहेको हुन्छ । जीवन बाँच्ने क्रममा कहिले सुखको यात्रा चल्छ भने कहिले दुःखको यात्रा चल्छ ।
ख) अनुच्छेदका आधारमा 'म' पात्रलाई चिनाउनुहोस् ।
'म' पात्र पहाडको एक दुर्गम गाउँमा जन्मेकी छिन् । उनी पछि आफ्नो बिहेका कारणले गर्दा काठमाडौं पुगिन् । उनले आफ्नो जीवनलाई विभिन्न यात्राका चरणसँग तुलना गरेकी छिन् । साथै उनले आफूलाई फूलबारीको फूलको उपमा दिएकी छिन्, जो विस्तारै फुल्ने र फक्रने तरखरमा छ ।
ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको हो ?
विभिन्न जातजाति, धर्म र संस्कृतिका मानिस विविधताका बीच पनि एकीकृत भएर बसोबास गरेको अनुभव गर्न पाइने भएकाले नेपाली जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो ।
घ) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लेखित छन् ?
अनुच्छेदमा नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका साझा संस्कृति उल्लेखित छन् । जस्तै काठमाडौंका नेवार, मुस्ताङका थकाली, पूर्वका किराँत, उत्तरका शेर्पा र तराईका मधेसीलगायतका संस्कृति उल्लेखित छन् ।
ङ) सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ ?
जीवनमा आलोचनात्मक हुन प्रश्न गर्नुपर्छ । प्रश्नबाट नै तर्क जन्मन्छ र तर्कबाट नै सत्यको बोध हुन्छ । प्रश्न गर्ने बानीले मानिसलाई विवेकशील बनाउँछ र बुद्धि दिन्छ ।
आ) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ ?
निबन्धांशमा कुनै पनि वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्गका आधारमा विभेद नगरी सबैको मूल्य र मान्यता अटाउने खालको विभेदरहित, न्याय र समतामूलक सुन्दर, शान्त र साझा संस्कृतिको परिकल्पना गरिएको छ ।